जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रुपन्देहीमा सकियो रवि लामिछानेको बयान , भोलि बिहान पोखरा ल्याइने

जन्मभुमि खबर ,

पोखरा ।

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (बिहीबार) भैरहवा नै राखिने भएको छ । उनलाई भोलि (शुक्रबार) बिहान कास्की पठाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

तीन दिन लगाएर करिब ७० वटा सवालमा सोधपुछ भयो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘योसँगै अनुसन्धानको प्रक्रिया पनि लगभग टुंगिएको छ ।’

मंगलबार १ बजेदेखि ५ बजेसम्म उनको बयान रेकर्ड गरिएको थियो। त्यस्तै बुधबार र बिहीबार ९ घण्टाभन्दा बढी उनीसँग सोधपुछ चलेको थियो।

पोखरामा उनीमाथि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान चलिरहेको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका उनलाई पोखरामा पनि जिल्ला सरकारी वकिलको कार्यालयमा सरकारी वकिलकै रोहवरमा प्रहरीले बयान लिएको थियो ।

अब कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि थुनछेक बहस हुनेछ । सरकारी वकिल र रविका कानुन व्यवसायीको बहस सुनिसकेपछि अदालतले उनलाई थुनामै राख्ने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भनेर आदेश गर्नेछ। कास्की अदालतको त्यस्तो आदेशपछि मात्र रुपन्देही प्रहरीले रविविरुद्धको मुद्दा सरकारी वकिलमार्फत अदालतमा बुझाउनेछ ।

रुपन्देहीका एसपी रञ्जित राठौरले आज जिल्ला प्रहरी कार्यालयमा नै राखिने र भोलि बिहान कास्की पठाउने बताए । प्रहरीले बुद्ध एयरमार्फत आज साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि भोलि पठाउने भएको हो ।

रविलाई कास्कीबाट मंगलबार भैरहवा ल्याएको थियो । बुटवलको सुप्रिम सहकारी रकम सङ्गठित रूपमा ठगी गरेको आरोप उनीसँग तीन दिन बयान लिइएको थियो ।