जन्मभुमि खबर ,
पोखरा ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले प्रसाईँको घरमै पुगेर पक्राउ गरेको जनाएकाे छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) होबिन्द्र बोगटीले साइबर अपराध सम्बन्धी कसुरमा उनलाई पक्राउ गरेको पुष्टि गरे ।
प्रसाईँले सोमबार मात्रै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक टेलिकम कम्पनीमा झन्डै ३२ अर्ब लगानी रहेको दाबी गर्दै केही दस्ताबेज सार्वजनिक गरेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार उनविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले सो मुद्दा चलाउने भएको हो ।
‘पक्राउ गरेर पहिला सीआईबीमा ल्याइँदैछ,’, उनले भने, ‘यहीँको हिरासतमा राखेर कारबाही अगाडि बढ्छ ।’
उनलाई सीआईबीमा ल्याइएलगत्तै जिल्ला अदालतमा म्याद थपका लागि पठाइने उनले बताए ।
‘उहाँले सम्माननीय प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिका विरुद्ध सामाजिक सञ्जालका माध्यमबाट भ्रम छर्नुभएको छ’, बोगटीले भने, ‘त्यस कसुरमा आकर्षित हुने दफाबमोजिम मुद्दा अगाडि बढ्छ ।’
भिडियो प्रकरणमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको बोगटीले बताए । ‘यस्तो वारदातमा जो–जो संलग्न छन्, हामी सबैलाई ल्याएर कानुनी कारबाही गर्नेछौं’, उनले बताए ।
ती दस्ताबेज तथ्य जाँच भने भइसकेको छैन । एमालेले र ओली निकटहरूले ती दस्ताबेज फर्जी खडा गरिएको दाबी गर्दै प्रतिवादमा छन् ।