जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा विमानस्थलबाट नाउरको सिङसहित युक्रेनी नागरिक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

वन्यजन्तु नाउरको सिङसहित युक्रेनी नागरिक मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा युक्रेनका २१ वर्षीय फिलिप जिल्को भिस्कीको झोलाबाट उक्त सिङ फेला परेको हो ।

विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीमार्फत जानकारी पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उक्त सिङ बरामद गरी युक्रेनी नागरिकसहित अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) को कार्यालयलाई बुझाएको छ ।

एक्याप प्रमुख रविन कडरियाका अनुसार युक्रेनी नागरिकले अन्नपूर्ण सर्किटको पदयात्रामा जाने क्रममा मनाङ क्षेत्रमा उक्त सिङ बेवारिसे अवस्थामा फेला पारेपछि आफूले ल्याएको बताएका छन् । ‘सिङ कुहिन लागेको अवस्थामा छ, ५–६ महिना पुरानो हुनसक्छ,’ उनले भने, ‘सिकार गरेको भन्दा पनि ट्रेकिङ रुटमा फेला परेर ल्याएको देखिन्छ ।’

युक्रेनी नागरिकलाई हाल थप अनुसन्धानका लागि एक्यापको नियन्त्रणमा राखेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा अघि बढाउने तयारी रहेको कडरियाले बताए । उक्त ऐनमा संरक्षित बाहेकका वन्यजन्तुको अंग ओसारपसार गर्नेलाई २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।