जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विपद् ब्यबस्थापनमा खटिएका सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन

जन्मभुमि खबर ,
पोखरा ।

विपद्को समयमा उद्धार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।

विपद् ब्यबस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका –५ आईटी पार्कमा मनसुनजन्य विपद् ब्यबस्थापन बेश स्थापना गरेको थियो । सोही बेशमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल त्यहीँ कार्यरत थिए ।

पछिल्लो समय असोज ११ गतेदेखिको अबिरल वर्षाका कारण काभ्रेका विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो । उक्त बेशबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङलगायत स्थानमा परिचालित थियो ।

सशस्त्र प्रहरी निरीक्षक बडुवाल ज्वरोलगायत समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना भएका थिए । उपचार गराइरहेका उनको आज बिहान उनको निधन भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।