जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा ४ रुपैयाँले बढ्यो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएको हो ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १४८ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यि क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १५० रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् ।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल र मट्टीतेल लिटरको १५१ रूपैयाँ पर्नेछ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।