जन्मभुमि खबर ,
पोखरा ।
बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।
‘बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ’, तिवारीले भने ।
सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक २ लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् ।
बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।