जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा जेब्राझोलाभित्र नवजात शिशु मृत फेला , जन्मदर्ताको कागज पनि साथमा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका १४ चाउथे विजयपुर खोलाको ओरालोमा नवजात शिशु मृत फेला परेको छ। मृत भेटिएको शिशुको जन्म यहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा भएको पुष्टि भएको छ ।

मृत शिशु राखिएको जेब्रा झोलामै जन्मदर्ताको कागज भेटिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरतबहादुर खत्रीले सो शिशु र आमा अस्पतालबाट सकुशल डिस्चार्ज भएको पुष्टि गरे । उनका अनुसार नुवाकोट बेलकोटकी सुभद्रा लामिछाने असोज ११ गते अस्पतालको प्रसूती कक्षमा भर्ना भएकी थिइन्।

सोही दिन शिशुलाई जन्म दिएकी उनको १२ गते अस्पताले डिस्चार्ज गरेको थियो । अस्पतालले डिस्चार्ज गराउँदा दिने शिशुको जन्मदर्ता प्रमाणपत्रमा आमाको नाम सुभद्रा र पिताको नाम गोविन्द लामिछाने लेखिएको छ ।

‘बच्चा डिस्चार्ज भएर गएको बर्थ सर्टिफिकेट लिएर गएको रहेछ। बच्चा सकुशल भएकै कारण डिस्चार्ज हुने हो । बिरामी भएको भए उपचार हुन्थ्यो,’ उनले भने ।

सोमबार बिहान स्थानीय ब्लक उद्योगमा काम गर्ने ओमबहादुर दर्जीले नालामा नयाँ जेब्रा झोला र प्लाष्टिकको बाटा देखेका थिए ।

उनका अनुसार जेब्रा झोलाको चेन खुल्लै थियो। भित्रको ब्ल्याङकेट बाहिरबाटै देखिन्थ्यो । छाम्दा भित्र गिलो भएपछि हेर्दा बच्चा देखिएको उनले सुनाए ।

त्यहीँ आइपुगेका नरेन्द्र बुुढाथोकीसँग झोलाभित्र बच्चा भएको सुनाएपछि नरेन्द्रले नै झोलालाई खाल्डोबाट निकालेर डिलमा राखेका थिए। उनीहरूले नै खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो ।

उनीहरू दुवैले बिहानको समयमा झोला त्यहाँ ल्याएर राखेको अनुमान लगाए ।

यता, प्रहरीले चाहिँ शिशु छाडेर हिँड्ने दम्पतिको खोजी थालेको छ ।

प्रहरीले उनीहरूले अस्पतालमा पेस गरेको बाबुआमाको नामसमेत नक्कली हुनसक्ने अन्दाजसमेत लगाएको छ ।

प्रहरी स्रोतका अनुसार अस्पतालका अन्य परीक्षणको क्रममा र जन्मदर्ताको प्रमाणपत्रमा फरक नाम पाइएकोले यो घटना हाडनातासँग जोडिएको वा अन्य केही हुनसक्ने अनुमान गरिएको छ ।

अस्पतालका निर्देशक डा. खत्रीले डाक्टरको काम उपचार गर्नेमात्र भएको र सुत्केरी हुन आएकालाई सुत्केरी गराइएको र अस्पतालले उपचारबाहेक धेरै निधिखोजी नगर्ने बताए ।

‘यहाँ आउँदा कतिले आफ्नो नामै फेर्छन। कतिले गाउँ। शंका लाग्यो भने मात्र चेक गर्छौँ नत्र त आमाले बच्चा जन्माउन आयो भनेपछि हाम्रो काम त उपचार गर्ने नै हो। त्योभन्दा अन्य सोधखोज गर्ने पाटो हाम्रो होइन,’ उनले भने।