जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव

जन्मभुमि खबर ,
पोखरा ।

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव ११ दिनपछि संकलन गरी काठमाडौं ल्याइएको छ । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसी पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन ११ दिन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार, प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल भएको थिएन । गत बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको हेलिकोप्टर रित्तै फर्किएको थियो । शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकोप्टर जान सकेनन् । मौसममा केही सुधार भएपछि बुधबार शव संकलन गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो । उनीहरू २० असोज रातिदेखि सम्पर्कविहीन भएका थिए ।

‘आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ पर्वतरोही बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।