जन्मभुमि खबर ,
पोखरा ।
स्वास्थ्य मन्त्रालयले आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।
पोखरा महानगरपालिका भित्र स्थायी तथा अस्थायी रूपमा रहेका ३२ हजार बढी बालबालिकाहरूलाई यस अभियानले पूर्ण रूपमा समेट्ने गरी आवश्यक प्रबन्ध मिलाइएको छ ।
महानगरपालिका भित्र सबै अस्पताल, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउने व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।
जस अनुसार यस पटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ । यसका लागि ५२ हजार भन्दा बढी स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ । बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।