जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुर्गा प्रसाईँका समर्थकले आगो लगाएका ट्रकका उपचाररत चालकको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

दुर्गा प्रसाईं समर्थित समूहले ट्रक आगजनी गर्दा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी निरीक्षक मेहेन्दी तामाङका अनुसार गम्भीर घाइते रहेका चालकको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक भारतको इस्लामपुर बस्ने ४० वर्षीय पोदो राय छन्। उनी असोज ७ गते डब्ल्यु बी ७३ ई ३०५६ भारतीय नम्बरको गाडी चलाएर बिर्तामोड-६ गिरिबन्धु टी-इस्टेट हुँदै काँकडभिट्टातर्फ जाँदै थिए ।

त्यसक्रममा एक समूहले उनलाई रोकेर कुटपिट एवं पेट्रोल झर्केर गाडीमा आगजनी गरी फरार भएका थिए । आगजनी गर्ने क्रममा चालक पनि गम्भीर भएका थिए ।

मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई साइबर ब्युरोले पक्राउ गरेपछि विरोध गर्ने क्रममा उक्त घटना भएको गरेको खुलेको हो। दुर्गा प्रसाईं ६ गते पक्राउ परेका थिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा महाअभियानका झापा संयोजक (पब्लिक डिफेन्स फोर्स) भिम तुम्बापो लिम्बूसहित ८ जनालाई पक्राउ गरेको थियो ।

घाइते भएका चालक रायलाई प्रारम्भिक उपचारको लागि बिएन्डसी अस्पताल लगिएको थियो। उनको थप उपचारको लागि भारतमा पठाइएको थियो ।

उपचारको क्रममा शनिबार दार्जलिङस्थित बंगाल मेडिकल कलेजमा मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय झापालाई आइतबार खबर भएपछि पोष्टमर्टमको लागि भद्रपुर अस्पतालमा शव ल्याइएको छ ।

यस घटनामा महाअभियानका संयोजक लिम्बू, सहसचिव सुरेश चौधरी, सदस्यहरू विवश लिम्बू, बलिहाङ माबो लिम्बू, राजेश महत, रुद्र भुजेल, वीरबहादुर गुरूङ र उदय लिम्बू प्रहरी हिरासतमा छन् ।

उनीहरूमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको थियो। अब कार्यालयले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाउनेछ ।