जन्मभुमि खबर ,
पोखरा ।
बाढीपहिरो प्रभावितका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
“विपद्का कारण काठमाडौंउपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो । यस विपत्तिको सामना हामी सबै मिलेर गर्नुपर्छ भन्ने धेयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो” मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भने ।
बैठकले प्रदेशमा भएको क्षति मूल्यांकन गर्न अध्ययन समिति पनि गठन गर्ने निर्णय गरेको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईंको संयोजकत्वमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सीडीई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहने गरी समिति गठन गरिएको हो ।
समितिले गण्डकी प्रदेशभर विपद्ले पुर्याएको क्षतिको मूल्यांकन गरी काम सुरु गरेको १५ दिनभित्र सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेस गर्नुपर्ने छ ।
यसअघि, गण्डकी सरकारले जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।