जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा हुने प्रथम पर्वतीय दौडमा सहभागि हुने खेलाडीहरुले अनलाइनबाटै दर्ता गर्न सक्ने

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता गर्न सक्ने भएका छन् ।

पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रालिले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । स्वदेशी तथा विदेशी धावकले ८ असोजसम्म अनलाइनमार्फत दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलोमिटरको दौडमा धावकले आफ्नो परिचयसहितको ठेगाना खुल्ने गरी अनलाइनबाटै फारम भर्न सक्ने व्यव्स्था मिलाएको पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।
पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएका छन् । तिनै पर्यटकीय गन्तव्य छुने गरी विश्व शान्ति स्तुपदेखि दौड सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने छ ।

खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यस्तै, महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

आगामी २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवस तथा २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदैछ । यही सन्दर्भ पारेर पहिलो प्रयास गरिएको पत्रकार एवं कम्पनी अध्यक्ष बरालले बताए । पोखरा क्लिक प्रालिअन्तर्गत हाल पोखरा क्लिक डटकम न्यूज पोर्टल संचालित रहेको कम्पनीका व्यबस्थापक सागर सुनारले जनाए ।

प्रतियोगितामा हालसम्म पोखरा वडा २२ कार्यालय, पुम्दीकोट कोट विकास समिति, विश्व शान्ति स्तुप समिति, बुद्व पार्क समिति, पुम्दीकोट माउन्टेन लज, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, कास्की जिल्ला एथलेटिक्स संघ, पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानल, सहारा क्लब पोखरा, अटोवेज प्रालि, ग्लेज ड्रिङकिङ वाटर, सिटिजन फर्निचर, बराल पार्टी प्यालेस, एस.के. साउण्ड, परिचय एड्भरटाइटिङ, राष्ट्रिय पोशाकघर, जिल्ला समन्वय समिति कास्की, अन्तराष्ट्रिय पर्वतीय संग्राहलय, खेलकुदकर्मी विश्व तण्डुकार लगायतले सहयोग गरेका छन् ।

खेलाडीहरुको बिमादेखि उनीहरुलाई प्रोत्साहन गर्न स्थानीयले उक्त दिन भव्य स्वागत गर्ने तयारी समेत गरेका छन् ।