जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालेनको फोटो र नाम भएकाे टिसर्ट लगाएका १३ युवा युवती प्रहरीको नियन्त्रणमा

जन्मभुमि खबर ,
पोखरा

काठमाडौँको बसन्तपुर क्षेत्रमा इन्द्र जात्रा हेर्न पुगेका बालेन समर्थकलाई प्रहरीले लखेटेको छ । काठमाडौँ महानगरपालिका प्रमुख आयोजक रहेको इन्द्रजात्रा केहीबेरमा सुरु हुँदैछ ।

जात्रामा सहभागी हुन बालेनको फोटो र नाम लेखेका युवा युवतिहरूको समूह सानो पशुपति क्षेत्रबाट बसन्तपुर दरबार क्षेत्र प्रवेश गर्दै गरेको अवस्थामा लखेटिएका हुन् । प्रहरीले उनीहरूलाई कार्यक्रम स्थानभन्दा टाढा पु¥याएर छोडेको वसन्तपुरमा रहेका स्थानीयले बताए ।

जात्रा स्थलबाट निकालिएका युवा युवतिहरूको को हन भन्ने खुलेको छैन् । उनीहरूले लगाएको सेतो टिसर्टमा अगाडि पट्टी मेयर बालेन्द्र शाहको फोटो छ भने पछाडि पट्टी अङ्ग्रेजीमा बालेन लेखिएको छ । इन्द्र जात्रा समारोहमा राष्ट्रपति प्रमुख अतिथि रहन्छन् भने प्रधानमन्त्री, सभामुख लगायतका अतिविशिष्ट व्यक्तिहरू अतिथिका रुपमा उपस्थित हुन्छन् । बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।

‘उहाँहरु सँगै केही स्थानीयको विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको हो’ एसएसपी रजौरेले भने ।

जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रहरीले बालेन समर्थक १३ जनालाई अहिले जनसेवा वृत्त परिसरमा राखिएको छ ।