जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बंगलादेशमा आयोजना हुने कन्फरेन्समा भाग लिन जान लागेका जुम्ल्याहा दाजु बहिनी आमा सङै पहिरोमा पुरिए

जन्मभुमि खबर ,
पोखरा ।

बुटवलको कालिका मानव ज्ञान माविमा कक्षा १० मा अध्ययनरत दीपेश भट्टराई र दीपिका भट्टराई अध्ययनमा तीक्ष्ण थिए । विद्यालयमा हुने हरेक गतिविधिमा क्रियाशील भएर लाग्थे ।

उनीहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फरेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।

अध्ययनमा उत्कृष्ट उनीहरू कक्षा १० अर्थात् एसईईको तयारीमा जुटेका थिए । यद्यपि, ओलम्पियारमा पनि जाने उनीहरूको सोचमा विद्यालयले समर्थन गर्‍यो । विद्यालयले बिदा दिने भएपछि उनीहरू शुक्रबार काठमाडौं हिँडेका हुन् ।

शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रो (विङ्गर) मा काठमाडौं जान उनीहरूले ट्राफिकचोकको काउन्टरमा पुगेर टिकट काटे । सोही गाडीमा चढे ।

लगातारको वर्षाले जनजीवन प्रभावित बनिरहँदा उनीहरू भने ठूलो भविष्यको सपना देख्दै काठमाडौंका लागि हिँडेका थिए । तर, उनीहरू सवार माइक्रो (विङ्गर) धादिङको झ्याप्ले खोलामा आएको पहिरोमा पुरियो ।

गाडी पुरिँदा जुम्ल्याहा दाजु-बहिनी दीपेश–दीपिका, आमा सीता भट्टराई सँगै पहिरोमा पुरिए । उनीहरूलगायत गाडी चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाए । पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको पहिचान भइसकेको छ । दीपिकाको अवस्था पहिचान भइसकेको छैन ।

नागढुंगा प्रहरी प्रभागका अनुसार सबै मृतकहरूको पहिचान खुलिसकेको छैन । शव गएराति ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

दीपेश-दीपिकाका बाबु होमनाथ भट्टराई भने कोरियामा बस्दै आएका छन् । श्रीमती र छोराछोरी घरबाट हिँड्ने बेला उनीसँग कुरा भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।

सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयका अनुसार कोरियामा रहेका होमनाथलाई जतिसक्दो छिटो बोलाइएको छ ।  उनले भने, ‘ठूलो सपना लिएर हिँडेका थिए । हामी पनि निकै खुसी थियौँ । तर, विपत्तिले लग्यो । दुःखी छौँ । सम्हालिन सकिरहेका छैनौँ ।’

उनले होमनाथलाई गाडी पुरिएको थाहा दिइएको बताए । आइतबार बिहान ४ बजे शव फेला परेको जानकारी दिइएको र उनलाई नेपाल बोलाइएको पाण्डेयले जानकारी दिए ।

अर्काको मुलुकमा रहेका होमनाथलाई आफ्नो सम्पूर्ण परिवार गुमाएर फर्किन निकै गाह्रो भएको पाण्डेयले बताए । ‘शव सनाखतका लागि काठमाडौं जानुपर्ने । न सडकबाट न प्लेनबाट जाने अवस्था छ,’ उनी भन्छन् ।

होमनाथको घर स्याङ्जाको गल्याङ नगरपालिका– ३ हो । उनका १५ वर्षीय छोराछोरी दीपेश र दीपिका बुटवलको कालिका माविमा पढ्दै आएका थिए । आमा सीता उनीहरूसँगै बस्थिन् ।

विद्यालयका प्रचार्य दिनेश थापा कालिका मानवज्ञान मावि बुटवलबाट आउँदो एसईईमा ४ जीपीए ल्याउने मुख्य दाबेदार विद्यार्थीहरूमध्ये दीपेश र दीपिका रहेको बताउँछन् ।  उनीहरूको प्रगतिका लागि सिफारिससहित बिदा दिइएको बताए ।

विद्यालयका शैक्षिक संयोजक दीपक बञ्जाडे नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको बताउँछन् ।

‘दीपेश र दीपिकाले ऐच्छिक रूपमा आफैँ अनलाइनमा फर्म भरेर ओलम्पियारमा छनोट भएका थिए । पहिलो चरणमा हामीले पनि सहयोग गरेका थियौँ,’ बञ्जाडे भन्छन्, ‘दोस्रो चरणमा बंगलादेश जानुपर्ने भएकाले विद्यालयबाट हुन सक्ने सहयोग गरेका हौँ । उहाँहरूबाट विद्यालयले ठूलो अपेक्षा गरेको थियो ।’

प्रहरी प्रभाग नागढुंगाका अनुसार उनीहरूसहित बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको शव निकालेर सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समूहका गरी सात जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन । पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडकखण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो । प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान लु१ज ४५७८ नम्बरको उक्त गाडीमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर तीन जना चढेका थिए ।

यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ । तीमध्ये बोम कार्की र प्रकाश कुँवर मात्रै उल्लेख गरिएको छ ।