जन्मभुमि खबर ,
पोखरा ।
अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसको अवसरमा पोखरा पंछी समाजले हरेक वर्ष जस्तै यस वर्ष पनि गिद्धको गणना गरेको छ । पोखरा पंक्षी समाजले सन् २०१७ देखि नै पोखरा आसपासमा गिद्धको संख्या अध्यावद्यिक गर्दै आइरहेको छ । यसवर्ष गतवर्षको तुलनामा झण्डै २२ प्रतिशतले बढेको समाजको तथ्याङ्कले देखाएको छ ।
कास्कीको घाचोक, बाच्छेबुडुवा, पुम्दी-भुम्दि, विजयपुर खोला करिडोर, लामेआहाल एवम् तनहुँको गाछेपानी, सिशुवा/भतेरी र दमौली ल्याण्डफिल साइटमा समेत गरी एकै पटक ८ स्थानमा छुट्टा-छुट्टै टोलिले गणना गरेको हो। यी स्थानहरुमा गिद्धको सङ्ख्या उत्साहजनक रुपमा बढ्दै गएको देखिएको छ।
संकटापन्न गिद्धको सूचीमा रहेको सेतो गिद्ध सबै भन्दा धेरै बढेको देखिएको छ भने अति-संकटापन्न सूचीमा रहेको सुन गिद्ध, सानो खैरो गिद्ध र डंगर गिद्धको सङ्ख्यामा पनि सामान्य वृद्धि भएको छ भने राज गिद्ध यथास्थितिमा रहेको र हिमाली गिद्ध भने घटेको पाईएको छ।
पोखरा उपत्यकामा मात्रै सबै थरि गिद्ध गरी गत वर्ष सन् २०२३ मा जम्मा ३८७ गिद्ध अध्यावधिक गरीएकोमा सो सङ्ख्या बढेर यस बर्ष ४७१ पुगेको छ। यस्तै तनहुँ क्षेत्रमा पनि गिद्धको सङ्ख्या बढेको पाईएको छ।
नेपाल सरकारले गिद्ध संरक्षणको लागी “गिद्ध संरक्षण कार्ययोजना २०२३-२०२९” लागु गरेको परिपेक्षमा देशभरका चरा तथा बन्यजन्तु संरक्षणमा लागिपरेका संघ-संस्थाहरुले विविध कार्यक्रमहरु गरी अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस मनाएका हुन्।
गिद्धलाई अति हानीकारक मानिएको डाइक्लोफेनेक नेपाल सरकारले वि.स. २०६३ सालमा प्रतिबन्ध लगाए पश्चात गिद्धको सङ्ख्या क्रमिक रुपमा वृद्धि हुदैँ गएको छ भने अर्को तर्फ सिनोमा विषादी, हाई-भोल्टेज बिजुलीका तारहरुमा ठोक्किएर मर्ने क्रम भने लगातार बढी रहेको छ।