जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । आइतबार साँझ आएको अन्तिम मत परिणामाअनुसार, ३५औँ महाधिवेशनमा कार्की एकहजार ३३९ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले प्रतिष्पर्धी अर्जुन पोखरेललाई ४५८ मतले पराजित गरे । पोखरेलले ८८१ मत प्राप्त गरे । अध्यक्ष पदमा २७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

गत महाधिवेशनमा पनि अध्यक्षमा प्रतिष्पर्धा गरेका पोखरेल पराजित भएका थिए । कार्की महासंघका वरिष्ठ उपाध्यक्ष थिए ।

यस निर्वाचनमा पोखरेल प्यानल नै बनाएर होमिएका थिए । कार्कीले भने अध्यक्षमा मात्र उमेदवारी दिएका थिए ।

पोखरेल प्यानलबाट उपमहासचिवमा उमेदवारी दिएका बालकृष्ण कोइराला पनि पराजित भएका छन् । कोइरालालाई १६० मतले हराउँदै सुदीपमान प्रधानांग निर्वाचित भए । प्रधानांगले एक हजार १७७ मत ल्याए । कोइरालाले एक हजार ४७ मत ल्याए ।

पदाधिकारीमा पराजय भए पनि पोखरेलको टिमले पदाधिकारी र बहुमत सदस्य भने जितेको छ । यस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ पहिले नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

दस सदस्यमध्ये पोखरेल समूहका आठ जनाले जित हासिल पारेका छन् । सदस्यमा ललितबहादुर कुँवरले सर्वाधिक एकहजार ५३९ मत पाए । यसैगरी, देवेन्द्र प्रजूले एकहजार ५१६ मत, सौगात थापाले एकहजार ४९४, दूधमान गुरुङले एकहजार ४६८, भीम गौतमले एकहजार ४३९, जीवनप्रकाश श्रेष्ठले एकहजार ३८३, टीकाराम सुवेदीले एकहजार ३९४ र यादवप्रसाद पोखरेलले एकहजार ३०० मत प्राप्त गरेर निर्वाचित भए ।

यस्तै, लेखनाथ सुवेदी एकहजार २८६ र प्रेमबहादुर सुवेदीले एकहजार २९६ मत प्राप्त गरे ।

स्वतन्त्र उमेदवारी दिएकामध्ये प्रदीपराज भण्डारीले एकहजार ३७० र रामचन्द्र तिमिल्सिनाले एकहजार ३७५ मत ल्याएर विजयी बने ।

कुल दुई हजार ९०७ मतदातामध्ये दुई हजार २५१ मत खसेको थियो ।