जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुर्वडीआईजी छविलाल जोशीको बयान सुरु

जन्मभुमि खबर ,
पोखरा ।

सहकारी ठगीको आरोपमा पक्राउ परेको पूर्वडीआईजी छविलाल जोशीको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा लगेर जोशीको बयान लिइरहेको कास्कीका प्रहरी प्रहरी प्रमुख एसपी मोहन थापाले बताए ।

जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले पहिलो पटक ५ दिनको म्याद दिएको छ । जोशीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि अनुसन्धान अगाडी बढाइएको छ। उनलाई आइतबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेर कास्की लगिएको थियो ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगीको आरोपमा गत वर्ष माघमा पुरक जाहेरी परेको थियो। जाहेरी परेको ८ महिनापछि जोशी पक्राउ परेका हुन् ।

जोशीसहित पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि कारबाहीको दायरामा ल्याउन सहकारी छानविन समितिले सिफारिस गरेको छ। समितिको सिफारिस कार्यन्वयन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

संसदीय छानबिन समितिको प्रतिवेदन कार्यन्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएकै दिन जोशीलाई पक्राउ गरेको हो ।

जोशी पक्राउ परे लगतै अर्का आरोपि रबि लामिछानेले पनि आफू पक्राउ पर्ने डरले पार्टी कार्यालयमा कार्यकर्ता जम्मा पारेर रातभर बसेका थिए। तर प्रहरीले उनलाई भने पक्राउ गरेको छैन ।

उनी बहालवाला सांसद समेत रहेकाले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि र जोशीको बयानपछि मात्रै पक्राउ गर्न सक्ने सम्भावना छ ।

यसअघि नै जिल्ला प्रहरी कार्यालय कास्कीको टोली काठमाडौँ आएर जोशी र लामिछानेसँग सोधपुछ कागज गरिसकेको छ। उनीहरू संलग्न रहेको गोर्खा मिडिया नेटवर्कको कार्यालयमा प्रहरीले छापा मारेर कागजात पनि नियन्त्रणमा लिइसकेको छ ।

यस्तै, उनीहरू दुवै जनासँग सहकारी छानविन समितिले पनि बयान लिएको थियो । छानविन समितिले रबि र छबि समेतले सहकारीका बचतकर्ताको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको समितिको ठहर छ ।

यही मुद्दामा गोर्खा मिडियाकै सञ्चालक कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् भने मुख्य सञ्चालक जीबी राई मलेसियामा लुकिरहेका छन् ।

प्रहरीले उनलाई नेपाल ल्याउने प्रयास गरे पनि सकेको छैन ।