जन्मभुमि खबर ,
पोखरा ।
धादिङ र काठमाडौंको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका-९ झ्याप्लेखोलामा पहिरोमा परेका सवारी साधनबाट ३५ शव निकालिएको छ । सुरक्षाकर्मीले आज बिहानैदेखि थालेको उद्धारका क्रममा थप २१ जनाको शव निकालिएको छ । एउटा माइक्रोबाट १६ र यात्रु बसबाट ५ शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए । हिजो राति झ्याप्लेखोलाकै पहिरोमा परेका १४ जनाको शव निकालिएको थियो ।
पुरिएका सवारीसाधन धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछट्टै भेटिएकाले कुन सवारीसाधनको शव कुन हो भन्ने यकिन गर्न कठिन भएको प्रहरीले जनाएको छ ।
पुरिएको अवस्थामा फेला परेका सवारीसाधन टुक्राटुक्रा बनेकाले नम्बर पहिचान गर्नसमेत कठिन भएको सूचना अधिकारी सिलवालले जानकारी दिए । गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसको भने यकिन भएको छ । एस्काभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको शव देखिएपछि बसको यकिन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिए ।
पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीन र एक यात्रु रहेको भनिएपछि बीच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ ।
त्यस्तै, चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौंका लागि छुटेको माइक्रोबस (जम्बो हाइस) पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।
यसैगरी, शुक्रबार अपराह्न करिब २ बजे मनकामना माई यातायात प्रालिमार्फत सञ्चालित बा२ख १३४५ नम्बरको बस सम्पर्कविहीन रहेको प्रालिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिए । सुरक्षाकर्मीले अहिले पनि झ्याप्लेखोलामा गएको पहिरो पन्छाउने कामसँगै उद्धार कार्य जारी राखेको छ ।