जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरियन नागरिक बचाउन खोज्दा नेपाली सेनाका मिलनको निधन

जन्मभुमि खबर ,
पोखरा ।

सिन्धुपाल्चोक घुम्न गएका नेपाली सेनाका कर्णेलको मिलन केसीको सुनकोशी गाउँपालिका–४ बिमरेनी जंगलनजिकैको सिन्धु बिच रिसोर्ट माथिबाट आएको पहिरोमा पुरिएर शनिबार मृत्यु भएको छ । सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत केसीसँगै घुम्न गएका कोरियन नागरिक बचाउन खोज्दा उनी पुरिएका थिए ।

दोलखा भिमेश्वर नगरपालिका घर भएका ३६ वर्षीय केसीको पहिरोबाट निकालेपछि केही बेरमा मृत्यु भएको हो । कोरियन नागरिक पनि सोही पहिरोमा पुरिएको भनिए पनि यकिन अवस्था थाहा भएको छैन ।

सुरुमा माथिबाट सानो पहिरो झरेपछि कर्णेल केसी सुरक्षित स्थानमा गएका थिए । तर कोरियन नागरिक सुतिरहेकाले बोलाउन गएका बेला केसीसहित कोरियन पुरिएका थिए । पुरिएको स्थानबाट उद्धार गर्दा उनी आफैं हिँड्ने भन्दै बोक्न पनि मानेका थिएनन् । आफैं हिंडेका केसीको शरीरमा चोटपटक थियो । केही बेरमा गाह्रो भयो भन्दै ढलेको उद्धारमा खटिएका स्थानीयले बताए । केही महिनाअघि कर्णेलमा बढुवा भएका केसी सिरिया मिसनका लागि छनोट भएको जानकारी नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

कोरियन साथी दुई जना रहेकोमा एक जना पुरिएका छन् भने एक जना सकुशल रहेका छन् । पुरिएकोको अवस्था अज्ञात रहेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक उमेश पाण्डेले पुरिएको नागरिक कोरियन भएको सूचना पाए पनि शव नभेटेसम्म यकिन भन्न नसक्ने बताए । सकुशल रहेकाका कोरियन नागरिक बिहानको समय भएकाले रिसोर्टको किचनमा खाना अर्डर गर्न गएका बेला पहिरो झरेको थियो । पहिरो बिहान १० बजेतिर आएको थियो ।

कर्णेल केसी कोरिया गएका बेला भेटघाट र चिनाजान भएका कोरियन नागरिकलाई नेपाल आएका बेला घुमाउन त्यहाँ लगेका थिए । सुनकोशी नदी किनारमा रहेको उक्त रिसोर्टको सामान्यतया पहिरो आउने अनुमान गर्न नसक्ने जंगल रहेको छ ।

सिन्धुपाल्चोक प्रहरी प्रमुख (एसपी) सन्तोष खड्काका अनुसार अहिले कर्णेल केसी र कोरियन चढेको गाडीका चालक दुवैको शव बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । स्रोतका अनुसार केसीको शव पोस्टमार्टमका लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा ल्याउने तयारी गरिएको छ ।