जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा दिनदहाडै हतियार देखाएर लुटपाट गर्ने तीनजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा दिनदहाडै हतियार देखाएर लुटपाट गर्ने तीनजना युवालाई प्रहरीले पक्राउ गरेको छ।

मोटरसाइकल र स्कुटरमा हिँड्ने ती युवाहरूले शनिबार दिउँसो २ बजे पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा बाटोमा हिँडिरहेकी एक युवतीले लगाएको २ तोलाको सुनको सिक्री, नगद १२ हजार र छालाको कालो ज्याकेट लुटेका थिए ।

चक्कु देखाएर लुटपाट गर्ने व्यक्तिहरू पोखरा १८ बस्ने ३७ वर्षीय देवन गुरुङ, सोही वडामा बस्ने १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की र तनहुँ ब्यास नगरपालिका ३ घर भइ हाल पोखरा ५ बस्ने १८ वर्षीय अनिश भट्ट रहेका छन् ।

उनीहरु ग ८ प ६९२४ नं को डियो रातो रंगको स्कुटर र ग ११ प ९८२७ मोटसाइकलमा सवार थिए। लुटपाट गरेसँगै उनीहरुले सुनको सिक्री चाहिँ पोखरा ४,गणेशटोलमा विकास सुनचाँदी पसल चलाउने नारायणप्रसाद बिक र एसपी मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मालाई बेचेका थिए ।

प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुबाट सुनको सिक्री बिक्री गरी आएको एक लाख तीन हजार पाँच सय रुपैयाँ पनि बरामद भएको कास्की प्रहरीको भनाइ छ ।