जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका घुस काण्ड : भ्रष्टाचार आरोपीको पक्षमा बयान दिने सरकारी साक्षीविरुद्ध मुद्दा दायर

जन्मभुमि खबर ,
पोखरा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपीको पक्षमा विशेष अदालतमा बयान दिएपछि दुईजना सरकारी साक्षीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

पोखरा महानगरपालिकाका कर्मचारी सवइन्जिनियर उषा किरण रोकायासमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दा (मुद्दा नं ०८०सीआर०१६७) मा सरकारी साक्षीको रुपमा पेश गरिएका चितवनको कालिका नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने केशरी प्रसाद तिवारी र उर्मिला पौडेलले आयोगमा अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको ठहर छ ।

आयोगले तिवारी र पौडेलले अख्तियारका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिका–१० मा निर्माण भएको घरको सम्पन्न प्रमाण पत्र प्राप्त गर्न शिव प्रसाद बराल, उषा किरण रोकाया, सुरज कुँवरसमेतलाई ३ लाख ५० हजार रुपैयाँ घुस÷रिसवत रकम दिएको अनुसन्धानका क्रममा पुष्टि भएको जनाएको छ ।

सो मुद्दामा उनीहरूलाई प्रतिवादी नबनाई सजायमा पूर्ण छुट मागसहित सरकारी साक्षी बनाइएकोमा विशेष अदालतमा बकपत्र विपरित बयान दिएको अख्तियारको आरोप छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुर भएको हुँदा निजहरुलाई बिगो ३ लाख ५० हजार रुपैयाँ कायम गरी बिगो बमोजिम जरिवाना गरी बिगोसमेत जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।