जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घाँसको झाडीमा राष्ट्रिय विभूतिको सालिकको अपमान

जन्मभुमि खबर ,
पोखरा ।

गत वर्ष साउन २६ गते पोखरा महानगरपालिकाको अगुवाइमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले पोखराका सडक र चोकमा रहेका सालिक व्यवस्थापन तथा स्थानान्तरण गर्ने निर्णय गर्‍याे। महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकार भएका संघसंस्थाहरूसँगको समन्वयमा एक महिनाभित्र सालिक व्यवस्थापन गर्ने भनिएकामा वर्षदिनसम्म पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन ।

पर्यटकीय राजधानीसमेत रहेको पोखराका मुख्य–मुख्य चोक र सडकमा राष्ट्रिय विभूतिदेखि साहित्यकारसम्मका सालिक ठडिएका छन्। सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र सहरी सौन्दर्यलाई दृष्टिगत गरी सालिकलाई स–सम्मान पोखरा महानगरपालिका–१८ स्थित सहिद तथा विभूति उद्यानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने निर्णय गरिएको थियो। स्थानान्तरण हुनु त परै जाओस् रेखदेख र संरक्षणसमेत नहुँदा केही सालिक बेवारिसे अवस्थामा पुगेका छन् ।

पोखरा–१० अमरसिंहचोकमा रहेको राष्ट्रिय विभूति अमरसिंह थापाको सालिक त्यसकै एक उदाहरण बनेको छ। काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गको मुख्य चोकमा अवस्थित उक्त सालिकको दुरावस्थाले मानिसलाई नै गिज्याएको अनुभूति हुन्छ। राष्ट्रिय विभूतिको सम्मानमा राखिएको सालिकमाथि उल्टो अपमान भइरहेको देखिन्छ। घाँसको झाडीभित्र फुङ्ग अडेको अमरसिंहको सालिकले महानगरले सालिक व्यवस्थापनमा देखाएको उदासीनतालाई झल्काउँछ ।

सालिक ठड्याइएको संरचना पनि जीर्ण अवस्थामा पगेको छ । सालिकको चारैतिर बर्खे घाँसले ढाकेको छ। सालिक वरपरको सडक पनि नाजुक अवस्थामा छ। बर्सातका बेला हिलाम्मे र खाल्डाखुल्डी भएको सडकबाट यात्रा गर्नुपर्ने बाध्यता छ। पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेकाले उक्त सालिकको चाँडो व्यवस्थापन गर्नुपर्ने बताए ।

‘महानगरले गत वर्ष नै सडकमा रहेका सालिकलाई सहिद उद्यानमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको हो तर अहिलेसम्म सो कार्य अगाडि बढ्न सकेको छैन,’ उनले भने, ‘यो विषयमा महानगर प्रमुखलगायतसँग कुरा राख्छु, अमरसिंहचोकसँगै महानगरभित्रका सबै सालिकको उचित व्यवस्थापन गर्नु आवश्यक छ ।’

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले दीर्घकालीन रुपमा सालिकको व्यवस्थापन गर्नु उचित हुने बताए। ‘सालिक राखिएका संरचना नहुँदा सडक फराकिलो हुन्छ, व्यस्त चोकमा सालिकको सट्टा ट्राफिक आइल्यान्ड राख्न सकियो भने सवारी व्यवस्थापनमा पनि सहजता थपिन्छ,’ उनले भने, ‘सालिक भएका कारण अहिलै नै ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको अवस्था नरहे पनि यसको दीर्घकालीन व्यवस्थापनमा भने महानगरले योजना बनाउनुपर्छ ।’

बढ्दो सवारी चाप र पार्किङ अभावका कारण पछिल्लो समय पोखराको ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ। पोखरा–१ हरिचोकदेखि वडा नं २६ अर्घौंचोकसम्मको सडक क्षेत्रमा सालिक छन्। अधिकांश सालिक राजमार्गका मुख्य चोकमा अवस्थित रहेको प्रमुख शर्माले बताए ।

‘कतिपय ऐतिहासिक व्यक्तित्वहरुका सालिक रहेका ठाउँमा उनीहरूका जयन्तीलगायत कार्यक्रममा मानिसहरूको भीडभाड हुने हुँदा ट्राफिक व्यवस्थापनमा समस्या निम्तने गरेको छ,’ उनले भने ।