जन्मभुमि खबर ,
पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले गत ५ दिनमा स्वरुप परिवर्तन गरिएका १४९ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरीले साउन ३० यता स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने १४९ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरु पहिलो पटकेदेखि चौथो पटकेसम्म रहेको र उनीहरुमाथि कारवाही पक्राउ सुरु गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।
उनीहरुबाट करिब २२ लाख रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएको थापाले बताए । गत असोज २१ गतेदेखि अभियान नै सञ्चालन गरेर स्वरुप परिवर्तन गर्ने चालक, मोटरसाइलकसहित वर्कशपलाई समेत कारवाही गरिएको एसपी थापाले बताए ।
उनकाअनुसार हालसम्म स्वरुप परिवर्तन गर्ने २ हजार ३५ मोटरसाइकललाई कारवाही गरिसकिएको छ । उक्त मोटरसाइकललाई २९ लाख ८ सय जरिवाना गरिएको एसपी थापाले उल्लेख गरे ।
स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक,ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को वमोजिम १५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मोटरसाइकललाई कारवाही गरिएको एसपी थापाले जानकारी दिए ।