जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मन्त्रिपरिषद्ले पायो पुर्णता, कांग्रेसबाट दुई र नागरिक उन्मुक्तिबाट १ राज्यमन्त्री थपिए

जन्मभुमि खबर ,
पोखरा ।

मन्त्रिपरिषदले पूर्णता पाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना राज्यमन्त्री थपेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। प्रधानमन्त्री ओलीले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टीबाट एकजना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ राज्यमन्त्री बनेका हुन् । नागरिक उन्मुक्तिबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् ।

चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन र विकलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो। यसैगरी तामाङलाई ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले शपथ लिएका दिन २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए। नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

ओली नेतृत्वको सरकारमा पाँच दलको सहभागीता भएको छ। सरकारमा नेपाली कांग्रेस,नेकपा एमाले,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्।

एमाले र कांग्रेसबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएको छ । सहमतिअनुसार नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र त्यसपछि कांग्रस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ ।