जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मन्त्री मनाङेलाई कारबाही गर्न पत्रकारको माग

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न पत्रकारले माग गरेका छन् । आफू भेष्ट लगाएर कार्यकक्षमा बसेको फोटो खिच्ने पत्रकारलाई कुट्नुपर्ने भनेर मनाङेले अभिव्यक्ति दिएपछि पत्रकारले कारबाही माग गरेका हुन् ।

संसदीय पत्रकार मञ्च, गण्डकीको नेतृत्वमा सोमबार मनाङेलाई कारबाहीको माग गर्दै कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मञ्चका अध्यक्ष भरत कोइरालाले हस्ताक्षर गरेको पत्रमा मन्त्रिपरिषद्का सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०७४ मा मन्त्रीको पोसाक मर्यादित हुनुपर्ने व्यवस्था गरिएको तर त्यसविपरीत गरेको समाचार लेख्दा धम्की दिनु प्रेसमाथिको हस्तक्षेप भएको उल्लेख छ ।

गत हप्ता मन्त्री मनाङे कार्यकक्षमा भेष्ट लगाएर बसेका थिए । अनलाइनखबर डटकममा कार्यरत पत्रकार अमृत सुवेदीले उक्त तस्वीर खिचेका थिए । त्यसपछि आइतबार एउटा अन्तर्वार्ता दिने क्रममा मन्त्री मनाङेले `गञ्जी लगाएको मेरो फोटो खिच्नेलाई कुट्नुपर्नेमा अरु सोझोलाई कुटेको´ अभिव्यक्ति दिएका थिए ।

राइड सेयरिङलाई बन्द गर्नुपर्ने मागसहित याताया व्यवसायीले आइतबार सार्वजनिक सवारी बन्द गरेका थिए । त्यो विषयको रिपोर्टिङ गर्न पुगेका दुई जना पत्रकारलाई यातायात मजदुरले कुटपिट गरेका थिए । यातायात व्यवसायीको आन्दोलनबारे मन्त्रीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारलाई उनीहरु दुई जनालाई नभई पत्रकार सुवेदीलाई कुट्नुपर्ने बताएका थिए ।

पत्र बुझेपछि कार्यबाहक मुख्यमन्त्री थापाले आफूले आइतबार राति नै यो विषयमा मन्त्री गुरुङलाई ध्यानाकर्षण गराएको बताए । मन्त्री गुरुङले अलिकति गल्ती भएको र अबबाट यस्तो नगर्ने बताएको कार्यवाहक मुख्यमन्त्री थापाले सुनाए ।