जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुविधा सम्पन्न ‘ह्याङ्गर’ का लागि पोखरा आउदै थियो सौर्यको जहाज

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको जानकारी दिएका छन् ।

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई जहाज आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

‘जहाजमा कुनै खराबी आएर नभई निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो’, उनले भने, ‘पोखरामा रहेको सुविधा सम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलाइन्सका कर्मचारी र प्राविधिकहरू जहाजमा सवार रहेको जानकारी आएको छ ।’

उड्नेबित्तिकै जहाज दाहिनेतिर मोडिन गई दुर्घटना भयो नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ।

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ।

विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्।

गत वर्ष काठमाडौँबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो ।