जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा स्कुल बस दुर्घटना : छानबिन गर्न समिति गठन

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका–२१ स्थित रामदीमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । सोमबार बिहान भएको दुर्घटनामा पोखरा–२१ का ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको थियो । उनीहरूको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

उक्त दुर्घटना छानबिन गर्न महानगरका शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, नगरप्रहरी पुरुषोत्तम थापा, मेडिकल इन्जिनियर सरोज चालिसेलाई सदस्य तोकेको छ । रामप्रसाद तिवारी सदस्य–सचिव रहेका छन् ।

यो समितिलाई सात दिनभित्र दुर्घटना हुनुको कारण, सवारीसाधन, चालकको अवस्था, बसमा रहेका विद्यार्थी संख्या, राख्न पाउने संख्या लगायतका विषयमा अध्ययन गर्न भनिएको छ । आगामी दिनमा यस्ता प्रकृतिका दुर्घटना न्यूनीकरण गर्न सुझाव समेत बुझाउन भनिएको छ । महानगरका मेयर धनराज आचार्यको निर्देशनअनुसार समिति गठन गरिएको हो ।

बसका चालक, कार्यालय सहयोगी, शिक्षक, अभिभावक तथा विद्यार्थीसहित बसमा ३० जना सवार थिए । घाइतेको अवस्था बुझ्न गएका मेयर आचार्यलाई विद्यार्थीहरूले बसको गति तीव्र रहेको बताएका थिए ।

पोखरा–१७, विरौटामा रहेको एलपी देवकोटा स्कुलको ग १ क ६२१९ नम्बरको बस घटनास्थलबाट झन्डै ५० मिटर तल खसेको थियो ।