जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँबाट नाबालिकलाई बन्धक बनाएर पोखरामा सामुहिक जबर्जस्ती गरेको आरोपमा दुई पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

नाबालिकलाई अपहरण गरेर बन्धक बनाई सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा पोखरामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा क्षिरेश्वरनाथ गाउँपालिका १० गोपालपुर घर भई हाल पोखरा महानगरपालिका ११ रानी पौवा बस्ने २१ वर्षका अरुण कुमार दास र भारतको बिहार प्रदेश सितामणी जिल्ला डुमरा थाना सुरसड पक्ष्मी वार्ड नं १ सुरसड घर भइ हाल पोखरा बस्ने १९ वर्षका सुनिल दास भन्ने सुनिल कुमार रहेका छन्।

असार १७ गते तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पुबाट बालिकालाई ललाई फकाइ र डर त्रासमा पारी दुई जनाले मोटरसाइकलको बीचमा राखेर पोखरा पुर्‍याएको र बन्धक बनाएर जबर्जस्ती करणी गरेको प्रहरीको आरोप छ ।

प्रहरीका अनुसार उनीहरूले ग ८ प ४२८० नम्बरको मोटरसाइकलको बीचमा राखी भाग्न उमक्न नदिई पोखरा महानगरपालिका ११ रानीपौवास्थित डेराकोठामा ल्याई बन्धक बनाएका थिए ।

राति साढे १ बजे दुवैजनाले जबर्जस्तीकरणी गरेर साढे ३ बजे फेरि तनहुँ नै फर्किने क्रममा पोखरा २० पावरहाउसस्थित पृथ्वीराजमार्गमा प्रहरीले चेकजाँच गरिरहेको देखेपछि उनीहरू फरार हुन खोजेका थिए ।

त्यसपछि प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनीहरूले सामूहिक जबर्जस्ती करणी गरेको खुलेको थियो ।

त्यही दिनबाट लागू हुने गरी ८ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वशन्तकुमार शर्माले जानकारी दिए ।