जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन , भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

जन्मभुमि खबर ,
पोखरा ।

सरकारले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ।

केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस किसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठन हुने आयोगका सदस्यहरूमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी, नागरिक उड्डयन प्राधिकरणका एअर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल छन्।

बैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

बुधबार पोखराको लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १९ जना सवार मध्ये १८ जनाले ज्यान गुमाएका छन्।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्यामविन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन्।