जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लमजुङमा मध्यराति पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता , एकजनाको शव फेला

जन्मभुमि खबर ,
पोखरा ।

लमजुङको क्व्होंलासोथर गाउँपालिका-३, बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ। तीनजना अझै बेपत्ता छन्।

पहिरोले रुद्रमणि गुरुङ र उनकी बुहारी पञ्चकुमारी गरुङको घर बगाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जानकारी दिए।

पहिरोमा पुरिएर रुद्रमणि, उनकी बुहारी पञ्चकुमारी, पञ्चकुमारीकी पाँच वर्षीया छोरी नम्रता र रुद्रमानका भाइकी नातिनी सात वर्षीया इच्छा बेपत्ता छन्,’ इन्सपेक्टर चापागाइँले भने, ‘घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा खटिएको छ।’

पञ्चकुमारीको छोरो अर्को घरमा सुत्न गएकाले घटनाबाट जोगिएका छन्।

ठूलो वर्षापछि गएराति झण्डै १ बजे घरमाथिबाट आएको पहिरोले तीनवटा घरगोठ पुरेको हो। रुद्रमणिको घरमा उनी एक्लै थिए। उनकी श्रीमती भने छोरीको घरमा गएकाले उक्त घटनाबाट जोगिएकी स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बेँसीसहरबाट डीएसपी मिनबहादुर घलेको कमाण्डमा प्रहरी टोली बुधबार बिहान घटनास्थलतिर गएको छ।

‘डीएसपी सा’पको कमाण्डमा गएको प्रहरी टोली अहिलेसम्म घटनास्थलमा पुगेको छैन, इन्सपेक्टर चापागाइँले भने, ‘प्रहरी चौकी मालिङबाट पुगेको प्रहरी टोली उद्धारमा जुटिसकेको छ।’

घटनास्थल सदरमुकाम बेँसिसहरबाट झण्डै २५ किमी टाढा पर्छ। सो ठाउँमा ६ वटा छन्। तीनवटा घर भने पहिरोबाट जोगिएका छन्।

त्यसैगरी गएराति नै बेँसिसह नगरपालिका–११ चिती स्याउतमा पहिरोमा परेर दुई जना घाइते भएका प्रहरीले जनाएको छ।

पहिरो खसेको कारण लमजुङका बेँसीसहर–चाँमेसहितका सडक पनि अवरुद्ध भएका छन्।