जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

जन्मभुमि खबर ,
पोखरा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड केहीबेरअघि भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् । मोदीको शपथ ग्रहण समारोहको निम्तो मान्न गएका प्रधानमन्त्री प्रचण्डको बिदाईका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठलगायतका मन्त्री, उच्च पदस्थ कर्मचारी विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए ।

सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गरेको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरको थियो ।