जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुर्वीय वाङ्मय शास्त्रार्थ कार्यक्रमको पहिलो शृङ्खला पोखरामा सम्पन्न

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल ज्योतिष परिषद्, कास्कीले आयोजना गरेको पूर्वीय वाड्मय शास्त्रार्थ कार्यक्रमको पहिलो शृङ्खल आषाढ ५ गते बुधबारका दिन पोखरामा शास्त्रीय मर्यादा कायम राख्नुपर्नेमा जोड दिनै सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि केदारेश्वर महादेवमणि धामका पीठाधीश चिद्धन चैतन्यले मानिसले शास्त्रीय मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यसले नै जीवनलाई सार्थक तुल्याउने औंल्याए । उनले धर्मको तत्त्व रहस्यमय रहेको उल्लेख गर्दै त्यसको प्रयोजन मोक्ष प्राप्ति भएको धारणा राखे ।

ज्योतिष तथा कर्मकाण्ड पेसा गर्ने व्यक्तिलाई धेरै किसिमका आक्षेप लाग्ने गरेको जनाउँदै पीठाधीश चैतन्यले उक्त पेसालाई पुजित बनाउन प्रयास गर्नुपर्ने उल्लेख गरे। नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. भोलानारायण रेग्मीले सेवा नै परम् धर्म भएको उल्लेख गर्दै मिलेर कर्म गरे धर्म प्राप्ति हुँदै जाने धारणा राखे। उनले भौतिकवाद तथा आध्यात्मवादलाई मिलाउन सके जीवन आनन्दित हुने स्पष्ट पार्दै धर्मलाई सैद्धान्तिक रुपमा मात्र नलिई व्यावहारिक रुपमा पनि हेरिनुपर्ने जनाए ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक दिननाथ पण्डितले धर्मका धेरै पक्ष वैज्ञानिक भएको धारणा राख्दै ज्योतिषशास्त्र र मानव जीवन अयोन्याश्रित रहेको स्पष्ट पारे। हिजोआज प्रकाशन हुने पात्रोहरू भद्रगोल हुँदै गइरहेकोतर्फ सचेत गराउँदै सहप्राध्यापक पण्डितले पात्रोबीच एकरुपता ल्याउनुपर्ने धारणा राखे ।

नेपाल ज्योतिष परिषद् कास्कीका अध्यक्ष रामजीप्रसाद आचार्यले परिषद्‌ले पूर्वीय वाङ्मय शास्त्रार्थ कार्यक्रम हरेक महिलाको पहिलो बुधबार दिउँसो एक बजे नियमित कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिँदै त्यसलाई सफल बनाउन सरोकारवाला लाग्नुपर्ने बताए ।

त्यस अवसरमा बौद्धिक सनातन धर्म तथा फलित ज्योतिषका विषयमा परिचर्चा भयो। कार्यक्रममा कास्की जिल्लामा ज्योतिष सेवा प्रदान गरिरहेका गुरुहरूको सहभागिता रहयो ।

नेपाल जोतिष परिषद् कास्कीका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रम परिषद्‌का सचिव गौरव ढुंगानाले सञ्चालन गरेका थिए ।