जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीका यातायात कार्यालयमा अनलाइन सेवा विस्तार

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारी दर्ता र नामसारीसम्बन्धी अनलाईन सेवा विस्तार गरेको छ ।

यसअघि कास्कीस्थित यातायात व्यवस्था कार्यालय सवारीमा सुरु भएको सवारी साधनको दर्ता र नवीकरण गर्न प्रयोग गरिने अनलाईन (ईभिआरएस) सेवा पछिल्लो पटक बागलुङ, नवलपुर र डुम्रेमा रहेको कार्यालयमा पनि विस्तार गरिएको छ ।

मन्त्रालयको यातायात शाखा प्रमुख अनिल सुवेदीले गण्डकी प्रदेशमा रहेका सबै यातायात कार्यालयबाट सेवाग्राहीले अनलाईनमार्फत नयाँ सवारीसाधन दर्ता र नवीकरणको आवेदन दिन पाउने व्यवस्था मिलाइएको जानकारी दिए। “कार्यालयमा सेवाग्राहीको भीड घटाउने र तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने बाध्यता हटाउन इभिआरएस प्रणाली विस्तार गरेका हौँ,” सुवेदीले भने, “सवारीसाधन दर्ता प्रमाणपत्र, (ब्लूबुक) नवीकरणका लागि घण्टौँ लाइन बस्नुपर्दा हुने झन्झट हटाउने र भीड घटाउन यो सेवा प्रभावकारी देखिएको छ ।”

अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीलाई सवारीसाधन नामसरी र नवीकरणको काममा सहज भएको छ । सवारी जाँचपाँस र रुट इजाजतबाहेकका सेवा अनलाइनमार्फत दिन थालिएको हो । सबै कागजात अनलाईनबाट प्रविष्ट गराएर कार्यालयमा जाँने वित्तिकै काम सकेर फर्किएको बेनी नगरपालिका–२ का भीमबहादुर रिजालले बताए ।

यसैगरी बागलुङ, नवलपुर र डुम्रेको यातायात कार्यालयमा रहेका सवारी साधनको अभिलेख र सबै कागजातसहितको विवरण स्क्यान गरेर सफ्टवेयरमा प्रविष्ट गराउन थालिएको छ । बागलुङ र नवलपुरमा थप जनशक्तिमार्फत डिजिटलाईजेशनको काम भइरहेको छ ।

डुम्रेमा दर्ता भएका सवारीसाधनको सङ्ख्या कम भएकाले कार्यालयकै जनशक्तिमार्फत काम भइरहेको मन्त्रालयले जनाएको छ । कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउँदा सवारीसाधन दर्ता र नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन सकिने यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले बताइन् ।

बागलुङमा तीस हजार र नवरपुरमा १५ हजार बढी सवारीसाधन दर्ता भएका छन् । यसअघि यातायात व्यवस्था कार्यालय कास्की (सवारी) मा दर्ता भएका तीस लाख सवारी साधनको ७३ लाख चित्रलाई स्यान गरेर ‘ट्रान्सपोर्ट म्यानेजमेन्ट’ सफ्टवेयरमा राखिसकिएको छ ।

सबै विवरण सफ्टवेयरमा हेर्न पाउने भएपछि सेवाग्राही घण्टौँ लाइन बस्नुपर्ने समस्या हटेको, फाइल र ढड्डा खोज्दा हुने समयको बचत, जनशक्तिलाई कामको भार कम पर्ने र कार्यालय व्यवस्थित बनेको यातायात व्यवस्था कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिजालले बताए ।

सबै फाइलहरू विद्युतीय अभिलेखीकरण भएपछि फाइल, ढड्डा हराउने, सेवाग्राहीलाई असहजता हुने अवस्थाको अन्त्य हुने उनले बताए । फाइलहरूलाई विद्युतीय अभिलेखीकरण गरेपछि दराजमा राखिएको फाइल खोजी रहनुपर्ने समस्या पनि अन्त्य हुने छ ।

कार्यालयमा भीड घटाउन बिहान ८ बजेदेखि नै सेवा सञ्चालन गरेको यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) कास्कीका नायब सुब्बा नवीन क्षेत्रीले लाइसेन्सको लाइसेन्स नवीकरणको राजस्व पनि अनलाईनमै तिर्न सकिने बताए ।

बिहानी सत्रमा नयाँ सवारी चालक अनुमति पत्रको आवेदन पेस गर्ने, लाइसेन्स वितरण, वर्ग थप गर्ने, वायोमेट्रिक गर्ने, राजस्व तिर्ने, मेडिकलसम्बन्धी सेवा दिने गरिएको उनले बताए ।