जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज गणतन्त्र दिवस मनाइँदै

जन्मभूमि खबर ,
पोखरा ।

नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज मंगलबार राष्ट्रिय गणतन्त्र दिवस मनाइँदैछ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए । त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले उनको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो ।

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गर्ने निर्णय भएको छ ।