जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सगरमाथा आरोहणबाट फर्किने क्रममा मृत्यु भएका पोखराका बस्ताकोटीको अन्त्येष्टि

जन्मभुमि खबर ,
पोखरा ।

पोखराका पर्यटन व्यवसायीको सगरमाथा आरोहणबाट फर्किने क्रममा मृत्यु भएको छ । पोखरा २६ खराने फाँटका ३७ वर्षीय विनोदबाबु बस्ताकोटीको सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा चौथो शिविर नजिकै हिउँ पहिरोमा परेर मृत्यु भएको हो ।

उनको निधनमा पोखरा महानगरपालिकाले श्रद्धान्जली सभाको आयोजना गरेको थियो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बस्ताकोटीको पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा सभागृहमा राखिएको थियो ।

बस्ताकोटीलाई पोखरा महानगरपालिका वडा नम्बर २६ ले वडा रत्न घोषणा गरेको छ । युवा पर्यटन व्यवसायी तथा साहसी युवा बस्ताकोटीको निधनले पोखराको पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको मेयर धनराज आचार्यले बताए ।

उनले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिखमा ६ हजार १ सय ४५ मिटर अग्लो लोवुचे पिक आरोहण गरेका थिए । चाइनिज भाषाको समेत राम्रो ज्ञान भएका बस्ताकोटी १६ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील थिए । बस्ताकोटीको मरेखरे घाटमा आजै दाहसंस्कार गरिएको छ ।