जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्यटन प्रबर्द्धनका लागि अन्नपुर्ण म्याराथन

जन्मभुमि खबर ,
पोखरा ।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ २०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको चौँथो संस्करण आगामी जेठ २१ गते गर्ने गरी तयारी तीव्र पारिएको छ ।

अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवस (जुन ३) का दिन म्याराथन गर्न लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवम् म्याराथन मूलआयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए । म्याराथन अन्तर्गत धावकहरु अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म कूल ४२ दशमलव १९५ किलोमिटर दूरीमा दौडने छन् ।

“अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रबद्र्धनका लागि सुरू गरिएको म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो”, उनले भने, “म्याराथनले अन्नपूर्ण आधार शिविरसहित यहाँको समग्र पर्यटन प्रबर्द्धनमा विशिष्ट योगदान पु¥याएको छ ।”

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणसँगै विश्वमा हिमाल आरोहणको क्रम सुरु भएकाले अन्नपूर्ण हिमाललाई आरोहणको जेठो हिमालका रुपमा समेत लिइन्छ । मौरिस हर्जोगको टालीले जुन ३ अन्नपूर्ण प्रथमको आरोहण गरेकै कारण यस दिनलाई अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) का रुपमा मनाउने गरिएको छ । यही दिवसका अवसरमा सुरु गरिएको अन्नपूर्ण म्याराथनको ऐतिहासिक गरिमा र महत्व विशिष्ट रहेको संयोजक गुरुङले बताए ।

विसं २०७५ देखि सुरु गरिएको म्याराथनबीचका दुई संस्करण कोभिड– १९ का कारण हुन नसकेकोमा गत वर्षदेखि यसलाई पुनः निरन्तरता दिइएको अध्यक्ष गुरूङले जानकारी दिए । म्याराथनमा सहभागी धावक अन्नपूर्ण आधारशिविरबाट माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकसम्म आउने गरी मार्ग तय गरिएको समितिका महासचिव दिलीप गुरूङले जानकारी दिए ।

म्याराथनको पहिलो, दोस्रो र तेस्रो संस्करणको उपाधि क्रमशः त्रिभुवन आर्मीका हरिकुमार रिमाल, डोटीका खगेन्द्रबहादुर भाट र जुम्लाका धीरबहादुर बुढाले जितेका थिए । तेस्रो संस्करणदेखि महिलातर्फ पनि म्याराथन आयोजना गरिएकोमा महिलातर्फको उपाधि गणना भण्डारीले जितेका थिए ।

महिला तथा पुरुष दुबैतर्फका लागि हुने म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद एक लाख ५० हजार, एक लाख र ७५ हजार नगदका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने महासचिव गुरुङले जानकारी दिए । विदेशी धावकका लागि प्रोत्साहन पुरस्कारस्वरुप विशेष पुरस्कारको व्यवस्था गरिएको छ । पुरुषतर्फ दर्ता शुल्क रु सात हजार र महिलातर्फ पाँच हजार तोकिएको छ ।

म्याराथनमा सहभागिताका लागि अनलाइनमार्फत दर्ता प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै महसचिव गुरुङले यस संस्करणमा ७० जनाभन्दा बढी धावक सहभागी हुने बताए । उनका अनुसार हालसम्म छ जना विदेशी धावकले सहभागिता हुने जानकारी गराएका छन् । म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गतवर्षदेखि अल्टिमेट एड्भन्चर नेपालले प्राविधिक सहयोग, अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापन एवम् अन्नपूर्ण समाज काठमाडौँको सहकार्य रहेको छ ।

म्याराथनमा नेपाल पर्यटन बोर्ड, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय प्रकृति संरक्षण कोष, टाँडापानी पर्यटन व्यवस्थापन समिति, मुल्डे भ्यू–पार्क व्यवस्थापन समिति, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, भूपू खेलाडी मञ्च, नेपाल एड्भेन्चर रनिङ महास्ङ्घ, सिआइडब्लुईसी क्लिनिकसहितका अन्य पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले सहयोग गर्ने जनाइएको छ ।

म्याराथनका लागि ४२ सदस्यीय मूल व्यवस्थापन समिति, १३ वटा विभिन्न उपसमिति तथा सल्लाहकार समिति गठन गरिएको गुरुङले बताए ।