जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा आज अनि ‘हेर्दाहेर्दै’मा, सोमबार अर्को पेशी

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिट आज पनि ‘हेर्दा हेर्दै’मा परेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो ।

सुनुवाइ नसकिएपछि मंगलबार हेर्दा हेदैमा राखेको थियो । निरन्तर सुनुवाइका लागि पेसी तोकिएकोमा बुधबार पनि न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा सुनुवाइ नटुंगिएपछि पुनः हेर्दा हेर्दैमा राखिएको हो ।

अब गण्डकी प्रदेशको मुद्दा सर्वोच्च अदालतको यही इजलासले टुंग्याउने छ । वैशाख २५ गते प्रदेशसभाका सभामुख समेतको नाम राखी बहुमत देखाएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका थिए । प्रदेश प्रमुखलाई सभामुखलाई बहुमत अल्पमतमा सहभागी नगराउन पत्राचार समेत गरेका पूर्वमुख्यमन्त्री पाण्डेले अल्पमतमै नियुक्ति भएका अधिकारीलाई सर्वोच्चको आदेश देखाएर विश्वासको मत समेत पाएको घोषणा गरेपछि वैशाख २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा प्रारम्भिक सुनुवाइपछि वैशाख २८ मा सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गरिदिएपछि मुख्यमन्त्री अधिकारी दोस्रोपटक कामचलाऊ भएका छन् । संविधानतः विश्वासको मत माग्ने प्रस्तावमा सम्पूर्ण सभाको बहुमत नपाएपछि स्वतः पदमुक्त हुन्छन् । तर, सर्वोच्चकै न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासको फैसला अनुरुप विश्वासको मत लिएको देखिएको भन्दै पूर्ण सुनुवाइबाटै टुंगो लाग्ने हुँदा त्यसमा केही भनिरहनु नपर्ने भनिएको थियो ।

अब अर्को पेशी जेठ १४ गते सोमबारका लागि तोकिएको छ ।