जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीका एक लाख १० हजार बालबालिकालाई आईपीभी खोप

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार ३२७ बालबालिकालाई पोलियोविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) खोप दिइने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही जेठ १३ गतेदेखि २६ गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप कार्यक्रमका लागि तीन हजार ४५३ खोप केन्द्र तथा स्वास्थ्यकर्मी र ६ हजार ९०६ स्वास्थ्य स्वयंसेवक परिचालित हुने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिए ।

विसं २०७१ बाट सुरु भएको आईपीभी खोप विसं २०७३ को प्रारम्भदेखि विश्व बजारमा अभाव हुँदा दुई वर्षभन्दा बढी अवधिसम्म यो खोप लगाउनबाट छुटेका थिए । छुटेका बालबालिकालाई पालियो रोग लाग्ने जोखिम रहेकाले छुटेकालाई खोप दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको सचिव शर्माको भनाइ छ ।

सचिव शर्माका अनुसार नियमित खोप तालिकाअनुसार आईपीभी खोप दिनुपर्ने उमेर र उक्त समयमा यो खोप लगाउन छुट भएका हालको उमेरलाई विश्लेषण गरी बालबालिकाको उमेर समूह निर्धारण गरिएको छ ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई मात्र यो खोप दिने गरी लक्ष्य निर्धारण गरिएको र सोही आधारमा खोप तथा खोप जन्य सामग्रीको आपूर्ति तथा व्यवस्थापन गरिएको बताइएको छ ।

यस अभियानका लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकाले खोप केन्द्र समेत विद्यालयलाई बनाइएको छ ।

विद्यालय नजाने बालबालिका र विद्यालयमा खोप लगाउन छुट भएका बालबालिकाका लागि पायक पर्ने स्थानमा सञ्चालन हुने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा सञ्चालन हुने खोप केन्द्रमार्फत खोप लगाइने भएको छ ।

खोप अभियानमा मुस्ताङमा ४५०, म्याग्दीमा चार हजार ३५६, बागलुङमा ११ हजार ७७१, पर्वतमा पाँच हजार सात सय र स्याङ्जामा १० हजार १५४ बालबालिकालाई आईपीभी खोप दिइनेछ ।

यसैगरी कास्कीमा २८ हजार ३०७, मनाङमा १५३, लमजुङमा ६ हजार ६६५, गोरखामा आठ हजार ५३९, तनहुँमा १४ हजार ५१२ र नवलपरासीमा १९ हजार ७२९ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ ।