जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभानमा मर्दीखोलामा डुबेर एक पुरुषको ज्यान गएको छ । आइतबार पौने ५ बजेतिर रिभानको शान्तिघाटमा पौडी खेल्ने क्रममा मादी–५, रिभानको आनन्द ठाँटी बस्ने ४९ वर्षीय शिवबहादुर थापामगर डुबेका थिए ।
आइतबार साँझ ५ बजेतिर थापामगरको शव प्रहरीले निकालेको थियो । थापामगर खोलाको रहमा डुबेको खबर वडाध्यक्ष नारायण पाण्डेले प्रहरीलाई दिएपछि प्रहरी र स्थानीय उद्धारमा जुटेका थिए ।
अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरी टोली र स्थानीयले थापामगरको शव निकालेको र पोष्टमार्टमा लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।