जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हेम्जा आलु महोत्सव सुरु

जन्मभुमि खबर ,
पोखरा ।

१२ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।

महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए । आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेमजाको सिँचाई व्यवस्थापनका लागि महानगरले चौरासी नहर पुनर्निर्माणलाई महत्वका साथ प्राथमिकता दिएको बताए ।

महानगर प्रवक्ता समेत पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले आलु महोत्सवका संस्थापक प्रति आभार प्रकट गर्दै आलुले हेमजाको पहिचान दिएको बताए । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले आलु स्वास्थ्यका लागि महत्त्वपूर्ण भएको स्पष्ट पार्दै हेमजाको आलुलाई उपभोक्ताले मन पराएको धारणा राखे । महोत्सव सुरु हुनु पूर्व स्थानीय माई स्थानबाट बाजागाजा सहित शोभा यात्रा एवम् झाँकी र्‍याली निकालिएको थियो ।

महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबिच अन्तरक्रिया, विभिन्न कृषि उपज, बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङ्ग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन् ।

कास्कीमा १ हजार २५३ हेक्टरमा आलु खेती गरिन्छ। जसबाट वार्षिक २१ हजार ५१० टन उत्पादन हुँदा हेमजाले ५ हजार टन उत्पादन गर्छ। हेमजामा एमएस २२,जनकदेव, खुमलटार रातोलगायतका आलु खेती गरिन्छ।

महोत्सव यही वैशाख ५ गतेसम्म चल्नेछ । महोत्सवको अवसरमा क्लबको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ ।