जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

युएईमा नेपाली महिलाको रहस्यमय मृत्यु, घटनालगत्तै पति सम्पर्कविहीन

जन्मभुमि खबर ,
पोखरा ।

संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा एक नेपाली महिलाको मृत्‍यु भएको छ । रोजगारीका लागि १३ महिना पहिले युएई आएकी पाणिनी ५ मैदान अर्घाखाँचीकी राधिका घिमिरेको आइतबार बिहान मृत्यु भएको हो ।

घटना हुनुअघि सँगै भएका एकजनालाई प्रहरीले सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने मृतक राधिकाका श्रीमान् टीकापुर-७ कैलालीका नेत्रप्रसाद न्यौपाने सम्पर्कविहीन छन् ।

राधिकाको शव उनीहरू बस्दै आएको घरबाहिर माथिबाट खसेको र छेदविच्छेद अवस्थामा भएको प्रत्यक्षदर्शीले देखेका थिए । एम्बुलेन्स र प्रहरी आउन्जेल मृतकका श्रीमान् नेत्रप्रसाद सोही स्थानमा तीन पटक ओहोरदोहोर गरेको र पछि सम्पर्कविहीन भएको बताइएको छ ।

स्थानीय प्रशासनले अनुसन्धान जारी रहेको परिवारलाई बताएको युएईमै कार्यरत राधिकाकी कान्छो बुवाकी छोरी शुशीला घिमिरेले बताइन् । शव पोष्टमार्टमका लागि राखिएको छ । घटनास्थलबाट मृतक राधिकाका माइतीतर्फका नाताले भाइ पर्ने थानेश्वर घिमिरेलाई प्रहरीले सोधपुछ तथा अनुसन्धानका लागि पक्राउ गरेको छ ।

घटनाबारे सुरुमा थाहा नभएको जनाएका थानेश्वर पनि घटनास्थलबाट भागेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक राधिका र उनका श्रीमान नेत्रप्रसाद न्यौपानेबीच भनाभन भएको छिमेकीले सुनेको र पछि राधिकाको शव घरको तल छेदविच्छेदको अवस्थामा भेटिएको थियो ।

नेत्रले मदिरा सेवन गरी राधिकासँग झगडा गरिरहेको थिए । धेरै झगडा हुन लगेपछि आफू बाथरुममा गएर आधा घण्टा बसेको र बाहिर निस्किदा दिदीलाई नदेखेर खोज्दा दिदीलाई घरको तल भुइँमा देखेको थानेश्वरले बताएका छन् । झगडा हुँदा कुटपिट गरेको र ५ औ तल्लाको बाल्कोनीबाट खसालेको हुन सक्ने परिवारले आशंका गरेका छन् ।

मृतक राधिकाको परिवारमा बुवा आमा एक दाई र भाइसहित ९ वर्षकी छोरी छन् । राधिका ईद लगत्तै नेपाल जाने तयारीमा थिइन् । छोरीको उपचारका लागि बिदामा नेपाल जाने तयारी गरेकी उनी कहिले नफर्किने गरी यूएईमै अस्ताएकी छन ।

के भएको हो ?

राधिकाले ४ वर्षअघि नेत्रप्रसादसँग दोस्रो विवाह गरेकी हुन् । पहिलो वैवाहिक सम्बन्धमा समस्या आएपछि कानूनीरूपमा अलग भएकी राधिकाको पहिलो वैवाहिक सम्बन्धबाट एउटी ९ वर्षकी छोरी समेत छन् ।उनै छोरीको भविष्यका लागि आयआर्जन गर्ने भनेर दुबई आएकी उनी अजमानमा कामका लागि उतै बस्दै आएकी थिइन् ।

अजमानमा रहेको ‘द वान एण्ड ओन्ली वान मधु ब्युटी लन्ज फ्रिजोन’ कम्पनीमा ब्युटिसियनको रूपमा कार्यरत घिमिरेले केही समय पहिले आफ्नो श्रीमानलाई पनि यूएई बोलाएर काम खोजीदिएर सँगै बस्न सुरू गरेका थिए । मृतक राधिकाले आफ्नै माइती गाउँका नाताले भाई पर्ने थानेश्वर घिमिरेलाई समेत काम खोजेर केही दिन पहिला यूएई बोलाएकी थिइन् । उनीहरू ३ जना एकै ठाउँ बस्दै आएका थिए ।

शनिबार कामबाट आफू बस्दै आएको कोठा फर्केर खाना बनाई श्रीमानसहित माइतको छिमेकी भाई थानेश्वरसहित सबैसँगै बसेर खाना खाएकी थिइन् । खाना खाएपछि एउटै फ्लाटमा बस्ने अन्य देशका सहकर्मीसहित बसेर राधिकाका श्रीमानले मदिरा सेवन गर्दै राधिकालाई पनि मदिरा पिउन भनिरहेका थिए ।

तर, राधिकाले आफूलाई श्रीमानले चिट गरेको कुरा बताउँदै आएकी थिइन् । नेत्रले दोस्रो श्रीमतीको रूपमा राधिकालाई भित्र्याएको भनेपनि पछि आफू तेस्रो भएको थाहा पाएपछि आफूलाई किन झूट बोलेको भन्ने विषयमा विवाद भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।

सोही विवादले उग्र रूप लिँदा घटना घटेको हुन सक्ने परिवारले आशंका गरेका छन् । घटनालगत्तै श्रीमान नेत्रप्रसाद सम्पर्कविहीन हुनुले शंका थपिएको हो । यद्यपि उनी पक्राउ परिसकेकोले सम्पर्कमा आउन नसकेको हुन सक्ने स्रोतको भनाइ छ ।

दूतावास के भन्छ ?

घटनाबारे नेपाली दूतावास आबुधावीलाई अनौपचारिक जानकारी भएको दूतावास स्रोतको भनाइ छ । घटना आइतबार ३ बजेको हो । रमादानको अन्तिम ईदुल फितरको अवसरमा यहाँ सार्वजनिक बिदा चलिरहेकोले घटनाबारे जानकारी आउन ढिलाई भएको हुन सक्ने दूतावासका अधिकारीले बताएका छन् ।