जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

जन्मभुमि खबर ,
पोखरा ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो ।

कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा पिण्डदान र तर्पण गर्नेहरूको बिहान ५ बजेदेखि नै कालीगण्डकी किनारमा घुइँचो लागेको जानकारी दिए । ‘चैतेदसैँअघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वास छ,’ उनले भने, ‘नेपालका सबैजसो जिल्लाका साथै भारतबाट आएका हजारौँ भक्तजनले एकै दिन कागबेनीमा पिण्डदान गरेका छन् ।’

बडादसैँ र चैतेदसैँ सुरु हुने औँसीमा पिण्ड दान गर्दा दिवङ्गत भएकाले मुक्ति पाउने धार्मिक विश्वास छ । कागबेनीमा पिण्डदान गरेपछि भक्तजन समुद्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइको मुक्तिनाथ मन्दिरको दर्शन र पूजाआजा गर्न पुग्छन् ।

मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार विष्णु भगवान्को दर्शन, मूर्तिलाई पूजाआजा, एक सय आठ धारामा स्नान र परिसरमा रहेका दुईवटा पोखरीमा डुबुल्की मारेमा जानअञ्जानमा गरिएको पाप नष्ट भई पुण्य मिल्ने धार्मिक विश्वास छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार एक हजार दुई सय सातवटा गाडीमा ११ हजार एक सय ९२ नेपाली र तीन सय ४७ जना विदेशी, शनिबार चार सय ३७ वटा गाडीमा तीन हजार पाँच सय २७ नेपाली र चार सय ५६ विदेशी पर्यटक भित्रिएका थिए । शनिबार र आइतबार मुस्ताङ भित्रिएका मध्ये अधिकांश कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन रहेको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

‘तीर्थयात्री र पर्यटकलाई लक्षित गरेर जोमसोममा प्रहरीले स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ,’ उनले भने, ‘तीर्थयात्रुको सुरक्षा, पूजा व्यवस्थापन र यातायात व्यवस्थापनमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

बडादसैँ र चैतैदसैँअघिको सोह्रश्रद्धा तथा औँशी तिथिमा कागबेनीमा दिवङ्गत आफन्तलाई पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्रीको भिड लाग्ने गर्दछ । गत बर्खामा बाढीले क्षति पुर्‍याएको कागबेनीमा अस्थायी संरचना बनाएर पिण्डदान गर्ने व्यवस्था मिलाएको कागबेनीका अगुवा धारा गुरुङले बताइन् ।

वार्षिक परीक्षापछि विद्यालय बिदा भएको, अनुकूल मौसमका कारण मुस्ताङ घुम्नेको पनि चहलपहल बढेको छ । बिदाको फुर्सदमा परिवारसहित मुक्तिनाथ हुँदै कोरलासम्म घुम्न निस्किएको धवलागिरि गाउँपालिका– ७, ताकमका शिक्षक जीवन पौडेलले बताए ।