जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्थानीय तहको उपनिर्वाचन मंसिरअघि नै गर्न सकिन्छ : उपप्रधानमन्त्री लामिछाने

जन्मभुमि खबर ,
पोखरा ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आउँदो मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताएका छन् । ०८१ साल मंसिरमा सो उपनिर्वाचन गर्ने निर्वाचन आयोगको प्रस्तावप्रति इंगित गर्दै उनले त्यसअघि पनि गर्न सकिने धारणा राखेका हुन् ।

आइतबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग उपप्रधानमन्त्री लामिछानेले त्यसलाई मंसिरअघि नै पनि गर्न सकिने बताए । मंसिरमा सो उपनिर्वाचन गर्ने प्रस्ताव यसअघिको सरकारसँग आयोगले गरेको र त्यसको अध्ययन गरेर आफूले आवश्यक निर्णय लिने उनले उल्लेख गरे ।

“स्थानीय तहको उपनिर्वाचनको विषय अलिकति समय लाग्ने कुरा आएको छ । टेन्टेटिवली मंसिरमा सकिन्छ कि भन्ने प्रस्ताव आएको छ । त्यसलाई हामीले हेर्छौँ,” उनले भने, “त्यसको अन्य विभिन्न पाटोहरूमा अध्ययन गरेर मलाई लाग्छ, अहिले नै सरकारले घोषणा गर्ने कुरा त होइन, त्यसै सेरोफेरोमा हामी निर्वाचन गर्न सक्छौँ जस्तो लाग्छ ।”

उनले थपे, “यसअघि नै मंसिरमा जाने भन्ने कुरा भएको रहेछ । त्यसकारणले मैले अध्ययन गर्न खोजेको छु । केहीअघि पनि गर्न नसकिने होइन । तर, जटिलताहरू होलान्, अध्ययन गर्नुपर्छ । तर, छिट्टै गर्न सकिन्छ ।”

संघ र प्रदेशको उपनिर्वाचन आउँदो वैशाख १५ गते हुँदै छ । उपप्रधानमन्त्री लामिछानेले स्थानीय तहको उपनिर्वाचन पनि छिट्टै गर्ने पक्षमा आफू रहेको बताए ।