जन्मभुमि खबर ,
पोखरा ।
पोखराको लेक साइडबाट अटोमेटिक पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् ।
कास्की प्रहरीले पोखरा महानगरपालिका-१८ सराङकोटका ३८ वर्षीय नरबहादुर विकलाई पक्राउ गरेको हो ।
विकले पोखरा महानगरपालिका-२४ स्थित बन्दै गरेको घरमा उक्त पेस्तोल लुकाएर राखेको अवस्थामा बरामद भएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।
विकले यसअघि एक दर्जनभन्दा बढी पटक मुद्दा खेपिसकेका थिए । लागु औषधदेखि चोरी र लुटपाटसम्म उनी संलग्न रहँदै आएको एसपी थापाले जानकारी दिए ।
प्रहरीका अनुसार गत कात्तिक २२ गते मात्र विकविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।
लागू औषधमा ३ पटक, चोरी तथा डाँकामा ४ पटक र अन्य सार्वजनिक र अभद्र व्यवहार सम्बन्धी कसुरमा विकले मुद्दा खेपेका छन् ।