जन्मभुमि खबर ,
पोखरा ।
सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ ।
दुर्घटनाको खबरपछि बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए । दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरु प्नि शव लिन नैनीताल पुगेका बताए ।
‘अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैँ छौँ’, नैनीतालबाट प्रमोदले भने, ‘शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्धानी पुगेर हाल्ने सल्लाह भएको छ ।’ उनले पश्चिमी नाका गड्डाचौकी हुँदै शवहरु आज साझँसम्म नेपाल पुगिसक्ने बताए । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ–८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु र बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङका टोपबहादुर बस्नेत रहेका छन् ।
त्यसैगरी बैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारुले मृतकको शव ल्याउने विषयमा समस्या परे वडा कार्यालयले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने व्यवस्था गरिने बताए । ‘मृतकका आफन्तहरु नैनीताल पुगेर हामीसँत नियमित सम्र्पक गरिरहनुभएको छ”, उनले भने, “नयाँ वर्ष मनाउन घर फर्किरहेका दुर्घटनामा परेपछि सिङ्गो वडा नै शोकमा छ ।’ वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका स्थानीय दशरथ थारु र शान्ति थारु घाइते भएका र उनीहरुको भारतमै उपचार भइरहेको छ ।
सो दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको थियो । घटनास्थल वरपर नै उनीहरु सडक छेउमा खानेपानीको पाइप विछ्याउने काम गर्दथे । सोमबार काम सकिएपछि जीप भाडामा लिएर टकनपुर आउने तयारीमा रहेका उनीहरु जीप चढेको केही बेरमै दुर्घटना भएको थियो ।