जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ जना विरुद्ध मुद्दा

जन्मभुमि खबर ,
पोखरा ।

रुख काट्ने गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ विरुद्ध मुद्दा
कानुनविपरित विद्यालयभित्र रहेका रूख काटेर बिक्री गरिएको भन्दै गण्डकी बोडिङ स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

प्रचलित वन ऐनविपरित विद्यालय परिसरमा रहेको रुख काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले प्रधानाध्यापक वीरेन्द्र खड्कासहित ८ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

सार्वजनिक गुठी सञ्चालन गरेको विद्यालयमा खेलकुद ग्राउण्ड, छात्राबास र स्कूलको कम्पाउण्ड बालसंग जोडिएका सिसौ, सल्ला लगायतका विभिन्न २५ वटा रूख काटिएको थियो । अनुसन्धान गर्दा वन नियमावली, २०७९ अनुसार प्रक्रिया पूरा नगरिएको पाएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए ।

रुख कटान गरी उत्पादित दाउरा बिक्रीसमेत प्रचलित कानून बमोजिम भएको नदेखिएको सूचना अधिकारी गौतमले बताए । उत्पादित दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले ६० हजारमा विक्रि गरेको थियो ।

वन ऐन, २०७६ को दफा ४९ को उपदफा (घ) अनुसारको कसूर गरी विगो मूल्य ३ लाख ७९ हजार ४ सय बराबरको वन पैदावार हानीनोक्सानी गरेको पुष्टि हुन आएको डिभिजन वन कार्यालय कास्कीले जनाएको छ ।

ऐनको दफा ५० को उपदफा १४ बमोजिम बिगो असुल गरी १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजायको मागदावी गर्नै डिभिजन वन कार्यालय कास्कीले चैत २७ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएका हुन् ।

वन कार्यालयले प्रधानाध्यापक वीरेन्द्र खड्कासहित लोकबहादुर थापा, सोनी गुरूङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्माविरुद्ध मुद्दा दर्ता गराएको हो ।