जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मिटरमा नचल्ने १३ ट्याक्सि समातिए

जन्मभुमि खबर ,
पोखरा ।

पोखराका ट्याक्सी चालकले अझैपनि मिटरमा चलाउन अटेरीपन देखाएका छन् ।

यात्रुसँग मिटरमा उठेअनुसार भाडा लिनुपर्ने अनिवार्य लागू गरिएको झन्डै ९ महिना पुग्दासमेत चालक र ट्याक्सी व्यवसायीको अटेरी उस्तै छ ।

गण्डकीका तत्कालिन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले भदौ १ गतेदेखि लागु हुने गरेर अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम ल्याएका थिए । मन्त्रालयको निर्णयको ट्याक्सी व्यवसायीले विरोध गर्दागर्दैपनि मिटरमा गुड्न अनिवार्य भएपछि यात्रुले राहतको महसुश गरेका थिए ।

केही ट्याक्सीले सुरुआती चरणबाटै मिटरमा गुड्न अटेरी गरिरहेका थिए । पछिल्लो समय त अधिकांश ट्याक्सी चालकले मिटरमा गुडाउनै छाडेका छन् । सकेसम्म उनीहरु यात्रुसँग मनपरि भाडा असुल्छन् ।

आइतबार एकैैदिन मिटरमा नचल्ने १३ ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । यात्रुको उजुरी र छड्के अनुगमनमा मिटरमा चल्न नमान्ने ट्याक्सीलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्मा बताए ।

‘ट्याक्सीहरु मिटरमा गुड्दैन । यात्रुले मिटरमा जान चाहेर पनि चालकले लैजादैनौं भन्ने खालको गुनासो आइसकेपछि अपरेशन गरेका थियौं’, शर्माले भने, ‘पोखराका विभिन्न स्थानबाट १३ वटा ट्याक्सी नियन्त्रणमा लिएका छौं । नियमअनुसार कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छ ।’

प्रहरीले नियन्त्रणमा लिएका ट्याक्सीलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउनेछ । सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही हुनेछ ।

मिटरमा अनिवार्य लागु भएसँगै नियमित अनुगमन र कारबाहीको प्रक्रिया चलिरहेको उनले जानकारी दिए । भदौ १ गतेदेखि हालसम्म ५०४ वटा मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।

कारबाहीबाट १४ लाख २८ हजार २०० रुपैयाँ राजस्व संकलन भएको छ । कारबाही भइरहेपनि ट्याक्सी चालकको मनोमानी चलिरहेको उनको भनाइ थियो ।

सुरुमा मिटरमा नचल्ने ट्याक्सीलाई दुई हजार एक सय रुपैयाँका दरले जरिवाना तिराउने व्यवस्था थियो । असोज दोस्रो साता जरिवानालाई दोब्बर बढाएर न्यूनतम पाँच हजार रुपैयाँ पु¥याईएको हो ।

सुरुमा २०७८ फागुन १ देखि लागू हुनेगरी गण्डकी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि ट्याक्सी मिटरमा चलेका थिएनन् । त्यतिबेला समायोजन भएको भाडादर अनुसार भदौदेखि अनिवार्य मिटरमा चल्नुपर्ने बाध्यकारी नियम लागू भएको थियो ।

२ वर्षअघि समायोजन भएको भाडादर अनुसार १५ किलोमिटरको यात्रामा चढ्नासाथ ८० रुपैयाँ र त्यसपछिप्रति २ सय मिटरको १० रुपैयाँ तोकिएको छ । १५ किलोमिटरभन्दा बढीको दूरीमा प्रतिकिलोमिटरको ३७.५० रुपैयाँ कायम गरिएको छ । तर, तोकिएको भाडादर अनुसार मिटरमा ट्याक्सी नचल्दा यात्रुको मर्का अन्त्य हुन सकेको छैन ।