जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा बिहीबार एक व्यक्तिले बाटामा खसालेको १७ लाख नगद करिब २ घण्टामै फेला पारेका छन् । पृथ्वी चोकस्थित माता श्री ज्वेलर्सको रकम सोही ज्वेलर्समा काम गर्ने कालिगढ ४३ वर्षीय मनोहर पवँरले नयाँबजारस्थित कृषि विकास बैंकमा जम्मा गर्न जाँदा बाटामा खसालेका थिए ।
मोटरसाइकलको लेगार्डमा राखिएको झोला बाटोमा खसेको चाल पाएपछि पवँर तत्कालै प्रहरीकहाँ पुगेका थिए । कास्की प्रहरी प्रमुख मोहन थापाले १ बजेको घटनामा २ घण्टामै पैसा भेटाएर धनीलाई जिम्मा लगाइएको बताए ।
‘हामीले सिसिटिभीबाट हेर्दै जाँदा एक व्यक्तिले बाटोमा उठाएको देख्यौँ । पछि उनलाई भेटेपछि पैसा फिर्ता गर्न सम्भव भयो’, एसपी थापाले भने ।
प्रहरीका अनुसार भारत घर भएका ६५ वर्षीय छोटुलाल शर्माले पैसाको झोला भेटेका थिए । छोटुलालले पैसा धनीको खोजी गरिरहेको बेला प्रहरी सम्पर्कमा आएको बताएका छन् ।