जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दिपक मनाङे यातायात व्यवस्था कार्यालय कास्कीको अनुगमनमा कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न निर्देशन

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरूङ (दीपक मनाङे) यातायात व्यवस्था कार्यालय कास्कीको अनुगमनमा पुगेका छन् । मन्त्री मनाङे सोमबार दिउँसो साढे एक बजे पोखराको पृथ्वीचोकस्थित मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय, सवारी, कास्की पुगेका हुन् ।

उनले त्यहाँको सेवा प्रवाह र भौतिक पूर्वाधारको अवस्थाबारे कार्यालय प्रमुख डिल्लीराम रिज्यालसँग जानकारी लिए । त्यसपछि प्रमुख रिज्याललाई विद्युतीय हाजिरीको व्यवस्था गर्न र घण्टैपिच्छे हाजिरको व्यवस्था गर्न मन्त्री मनाङेले निर्देशन दिए । ‘कर्मचारी टाइममै आएनन् भन्ने गुनासो भएर आएको हो । ८ घण्टा हरेक घण्टा हाजिर गर्नपर्छ,’ उनले भने, ‘त्यो गर्‍यो भने ९ देखि ५ बजेसम्म बस्नैपर्छ ।’

मन्त्री गुरूङले कार्यालय छेउको जग्गा विवाद टुंग्याएर त्यहाँ पार्किङ व्यवस्थित गर्न, भुक्तानी र सेवा प्रवाहलाई डिजिटलाइज्ड गर्न पनि कार्यालय प्रमुखलाई निर्देशन दिए ।

यातायात व्यवस्था कार्यालय, सवारी, कास्कीका सूचना अधिकारी लक्ष्मीभद्र वाग्लेले अहिले आफूहरूले लिखित हाजिरी गर्ने गरेको र त्यसलाई विद्युतीय बनाउने तयारी भइरहेको बताए । विद्युतीय हाजिर जडान र घण्टैपिच्छे हाजिर गर्ने विषयमा कार्यालय प्रमुखसँग छलफल गरेर निर्णय हुने उनको भनाइ छ ।