गण्डकीमा एमाले नेता खगराज अधिकारी दोस्रोपटक नियुक्त
जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएमा मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अधिकारीले एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको देखाएर आइतबार बिहान मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । अधिकारी एक वर्षको अवधिमा दोस्रोपटक गण्डकीको मुख्यमन्त्री बनेका हुन् । उनी यसअघि २५ पुस २०७९ देखि १४ वैशाख २०८० सम्म मुख्यमन्त्री थिए । त्यतिबेला उनी एमाले, माओवादी केन्द्र, राप्रपा र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । पछि राजनीतिक घटनाक्रमले माओवादी कांग्रेससँग मिल्दा अधिकारीको सरकार ढलेको थियो ।
अहिले माओवादी फेरि एमालेसँग मिलेपछि उनी मुख्यमन्त्री बनेका हुन् । योपटक सरकार बनाउँदा राप्रपाले साथ दिएको छैन । त्यसैले उनले सभामुखलाई समेत माओवादी संसदीय दलको सदस्य मानेर मुख्यमन्त्रीमा दाबी गरेका थिए । यसमा कांग्रेसले प्रदेश प्रमुखलाई ४ बुँदे असहमति पत्र लेखेको छ । सभामुख प्रयोग गरिनु असंवैधानिक भएकाले अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न कांग्रेसले आग्रह गरेको थियो ।
तर, प्रदेश प्रमुखले अधिकारीलाई कांग्रेसको विरोधका बावजुद मुख्यमन्त्री नियुक्त गरेका हुन् । सभामुखसमेत गणना भएकाले यो विषय सर्वोच्च अदालत पुग्ने सम्भावना बढेको छ । यसअघि कोशी प्रदेशमा पनि यस्तै सभामुखको हस्ताक्षर प्रयोग भएपछि सर्वोच्चले त्यसलाई बदर गरिदिएको थियो ।
मुख्यमन्त्री खगराज अधिकारीको शपथ आइतबार दिउँसो साढे ३ बजे हुने भएको छ । प्रदेश प्रमुखको निवासमा मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मन्त्री क–कसको शपथ हुन्छ तय भइसकेको छैन । एमालेका एक जना सांसदकाअनुसार मुख्यमन्त्रीबाहेक माओवादीबाट एक जना र स्वतन्त्र सांसद राजीव गुरुङले मन्त्रीको शपथ लिने छन् ।